काठमाडौं । नेपाल राष्ट्र बैंकले लिएको नीतिका कारण अर्थतन्त्रका सूचकमा सुधार आएको दाबी गरेको छ । मौद्रिक नीतिको अर्थवार्षिक समीक्षा सार्वजनिक गर्दै केन्द्रीय बैंकले लिएको नीतिका कारण अहिले अर्थतन्त्रका सूचकमा सकारात्मक प्रभाव परेको दाबी गरिएको छ ।
नेपाल भित्रिने रेमिट्यान्समा आएको सुधार तथा आयातमा आएको कमीका कारण चालु खाता घाटा उल्लेख्य रुपमा घट्न गई बाह्य क्षेत्रमा परेको दबाब कम भएको राष्ट्र बैंकले जनाएको छ । २०७९ असोजदेखि शोधनान्तर बचतमा रहन थालेकोले तरलता स्थितिमा सुधार भएकोछ । फलस्वरुप, अल्पकालीन र निक्षेपको ब्याजदरहरु घट्न थालेका केन्द्रीय बैंकको समीक्षामा उल्लेख गरिएको छ ।
उपभोक्ता मूल्य वृद्धिदरमा पनि केही कमी आउन थालेको भएपनि केही वस्तुहरुको आयातमा लगाइएको प्रतिबन्ध र प्रतीतपत्र खोल्दा राख्नुपर्ने नगद मार्जिनसम्वन्धी व्यवस्था पूर्ण रुपले हटाइएको सन्दर्भमा आयात पुनः बढ्न गई बाह्य क्षेत्रमा दबाब पर्न सक्ने सम्भावना रहनुको साथै औसत मुद्रास्फीति अझै पनि लक्ष्यभन्दा माथि रहेकोले चालु वर्षको मौद्रिक नीतिमा लिइएको कार्यदिशालाई यथावत राखेको छ ।
ब्याजदर करिडोर अन्तर्गतका दरहरुलाई यथावत राखेको छ । अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात र स्थायी तरलता सुविधासम्वन्धी व्यवस्थालाई यथावत राखिएको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थालाई ८.५ प्रतिशतको बैंक दरमा उपलव्ध गराउँदै आएको दैनिक तरलता सुविधा अन्तर्गतको ओभरनाइट तरलता सुविधा ७ प्रतिशतको नीतिगत दरमा उपलव्ध हुने व्यवस्था मिलाउने भएको छ । आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा लिइएका लक्ष्य तथा प्रक्षेपणहरुलाई यथावत राखिएको छ । ब्याजदर करिडोर प्रभावकारी हुनेर भुक्तानी प्रणालीमा कुनै व्यवधान आउन नदिने गरी तरलता व्यवस्थापन गरिने भएको छ ।
त्यस्तै २०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा/ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गर्ने भएको छ । साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भई २०७९ पुस मसान्तमा सकृय वर्गमा रहेको २ करोडसम्मको कर्जालाई उद्योग–व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी २०८० असार मसान्तभित्र पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न पाउने व्यवस्था मिलाउने भएको छ ।
Facebook Comments