काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषिमा आधारित उद्योग नै नेपालका लागि दिगो हुने बताएका छन् । मङ्गलबार नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको १६ औं अन्तर्राष्ट्रिय व्यापार मेलालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
उनले नेपालमा अन्य उद्योगहरुभन्दा पनि कृषिमा आधारित उद्योगको विस्तारले नै अर्थतन्त्रका लागि दिगो हुने धारणा राखे । मौलिक संस्कृति परम्परा अनुसार घरेलु उत्पादनलाई प्रबर्धन र विकसित गर्न आवश्यक रहेको बताए । पहिलो कुरा हाम्रो सोचमा नेपाली पन बनाउन जरुरी रहेकाे बताउँदै प्रधानमन्त्री प्रचण्डले नेपालले ५० वर्ष पहिले खाद्यान्न आयात नभएर निर्यात गर्ने गरेका र अर्बौं विदेशी रकम भित्र्याउने गरेका भएपनि अहिले धेरै वर्षको अध्ययन अनुसन्धान र मेहनत गरी आधुनिकताका कुरा गरेर परनिर्भर भएर गएकाे बताए । उनले नेपाल परनिर्भर हुनुकाे कारणा खोजी गर्नु पर्ने र त्यसको निम्ति सोच बदल्नु जरुरी रहेकाे बताए ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘‘राज्यका कतिपय नीतिगत वैधानिक कारणले नेपालको घरेलु उत्पादनलाई प्रबर्धन गर्ने आत्मनिर्भर बनाउन सहयोग गर्ने उद्योगमा लगानी बढाउने र ऐनले पनि संरक्षण गर्ने विषयको पनि अभाव छ । ऐनको अभावले पनि अफ्ठ्यारो स्थितिमा गएका छौं । यसलाई बदल्न जरुरी छ । कृषिमा आधारित उद्योगहरु नै नेपालका लागि सस्टेनेवल उद्योग हुनसक्छ । लघु घरेलु तथा साना उद्योगभन्दा पनि कृषिमा आधारित उद्योग नै हो ।’’
प्रधानमन्त्री प्रचण्डले नेपालको मौलिक तरिकाबाट कृषि उत्पादनमा वृद्धि गरी कृषिमा आधारित उद्योगको विस्तार र रोजगारी सिर्जना गर्नेमा उच्च प्राथमिकता नदिई नेपाललाई आत्मनिर्भर अर्थतन्त्रसहितको सामाजिक न्याय र समाजवादउन्मुख राज्यको परिकल्पना पूरा नहुने दाबी गरे । उनले सबै नेपालीहरुको सोचमा नेपाली पन ल्याउन जरुरी रहेको बताए ।
‘‘हाम्रो मौलिक संस्कृति परम्परा त्यसलाई जर्गेना वा प्रबर्धन र विकसित गर्ने र नेपालको मौलिक तरिकाबाट कृषि उत्पादनमा वृद्धि गर्ने र त्यसैमा आधारित भएर उद्योग र रोजगारी सिर्जना गर्ने विषयमा उच्च प्राथमिकता नदिई हामीले नेपाललाई आत्मनिर्भर अर्थतन्त्र सहितको सामाजिक न्याय र समाजवादउन्मुख राज्यको सपना देखेका छौं ।,’’
उनले भने, ‘‘पूरा हुनसक्ने स्थिति छैन । यो पटक वर्तमान सरकारलाई असफल हुने छुट छैन । सरकारले राष्ट्र र जनताको पक्षमा र अर्थतन्त्रमा देखापरेका संकटलाई समाधान गर्ने, सुशासनको पक्षमा र समृद्धिको नयाँ अभियानमा हामी सफल हुनुपर्छ । त्यसको लागि निजी क्षेत्रको समेत सामुहिक पहल नभई देशको आर्थिक क्षेत्रका समस्या समाधान गर्न सक्दैन । सरकारको जोड त्यसैमा छ ।’’
प्रधानमन्त्रीले नेपालले ५० वर्ष पहिले खाद्यान्न आयात नभएर निर्यात गर्ने गरेको भन्दै अहिले किन परनिर्भर हुनुपर्ने अवस्था आयो त्यसको खोजी गर्नु आवश्यक रहेको धारणा औंल्याए । उनले राज्यका कतिपय नीतिगत वैधानिक कारण र ऐनले घरेलु उत्पादनलाई प्रबर्धन गरी आत्मनिर्भर बनाउन नसकिएको स्वीकार गरे ।
प्रधानमन्त्री प्रचण्डले घरेलु उत्पादनलाई प्रबर्धन गर्न ऐनको अभावले पनि अप्ठ्यारो भएको भन्दै यसलाई बदल्न जरुरी रहेको बताए । उनले वर्तमान सरकारलाई असफल हुने छुट नभएको भन्दै अहिले अर्थतन्त्रमा देखापरेको संकटलाई समाधान गरी सुशासन कायम गर्ने पनि जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले तत्कालका लागि मुलुकमा वित्तीय सङ्कट देखिएको बताए । बैंकको ब्याजदरमा भएको वृद्धिको कारणले देखापरेका समस्या समाधानको लागि अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरसँग बैंठक राखेर तत्काल व्यवासायीहरुलाई राहतका निम्ति कोशिस गरिहेको उनको भनाइ छ ।
प्रधानमन्त्रीले महामारीको कारणले बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले समस्या सिर्जना गरेको लघु, घरेलु अथवा साना उद्योगमा थप लगानी गर्ने पुँजीको अभावलाई सरकारले समाधान गर्न विशेष पहल गरेको उल्लेख गरे ।
उनले वित्तीय अस्थिरताका कारण लघु घरेलु अथवा साना उद्योगीहरुले उपभोग गरेको कर्जामा अत्यधिक बैंकको ब्याज वृद्धि हुन गई उद्योगीहरुमा परेको समस्या तत्काल समाधान गर्नको लागि सरकारले उपायहरु खोजिरहेको बताए । प्रधानमन्त्री प्रचण्डले लघु, घरेलु अथवा साना उद्योगीले प्रयोग गरेको कर्जालाई नवीकरण गरी थप पुन कर्जा प्राप्त गर्ने बनाउन पनि सरकार लागि रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले सरकारका केही नीतिगत, सोच, व्यावहारिक र संस्कारका कारणले अहिलेको स्थितिबाट गुज्रिएको बताए । नेपाल आत्मनिर्भर हुने आफ्नै स्रोत र साधनको अधिकतम प्रयोग गरी आत्मनिर्भर अर्थतन्त्र बनाउने सोचमा त्रुटि रहेको उनकाे भनइ छ ।
Facebook Comments