धनकुटा । धनकुटाको सहिदभूमि गाँउपालिका–४ हिले–छिन्ताङ कच्ची सडक खण्ड स्थितबाट प्रतिबन्धित लागुऔषध गाँजा बोकेको पिकअप गाडी सहित चालकलाई प्रहरीले ‍पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी गस्ती टोलीले छिन्ताङबाट हिले तर्फ जादै गरेको को. १ ज ३११८ नम्बरको पिकअप गाडीलाई चेकजाँचको क्रममा डाला भित्र ४ सय किलोग्राम (१५ बोरा) गाँजा बरामद गरेको थियो । 

उक्त गाडी प्रहरीले  रोक्न खोज्दा नरोकी केही पर गाडी छाडी चालक फरार भएका थिए । गाडीबाट लागुऔषध गाँजा बरामद भए पश्चात फरार रहेका चालकको खोजतलास तथा अनुसन्धानको क्रममा फाल्गुन ३ गते सुनसरीको इटहरी–२ स्थितमा लुकिछिपी बसेको अवस्थामा चालक सहिदभूमी गाँउपालिका(४ का ३१ बर्षीय किरण राईलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका राईलाई  सम्मानित धनकुटा जिल्ला अदालतबाट म्याद थप गरी घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।