ओखलढुङ्गा । ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्यामा सर्वोच्च अदालतबाट जन्मकैद सदर भएका पुष्कर गौतमले राष्ट्रपतिबाट सजाय माफी पाएका छन्।

प्रजातन्त्र दिवसको अवसर पारेर उनले राष्ट्रपतिबाट सजाय माफी पाएका हुन्। सर्वोच्च अदालतले माघ ९ गते गौतमलाई जन्मकैद हुने उच्च अदालत पाटन र जिल्ला अदालत ओखलढुङ्गाको फैसला सदर गरेको थियो। 

तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेल र गौतम प्रतिवादी रहेको मुद्दामा सर्वोच्चले गौतमलाई पनि जन्मकैदको सजाय सुनाएको थियो। सशस्त्र द्वन्द्वको समयमा भएको घटना भए पनि श्रेष्ठको हत्या नै भएको ठहर गर्दै सर्वोच्चले गौतमलाई पनि जन्मकैदको फैसला सुनाएको थियो।

यसैगरी, कैलाली–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीले पनि सजाय माफी पाएका छन्। 

२०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्रयाक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा महादेव बजगाईंले अरुण चौधरीसहित पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई विपक्षी बनाइ मुद्दा दायर गरेका थिए।


उक्त  मुद्दामा २०७० बैशाख ९ गते फैसला सुनाउँदै अदालतले तीनै जनालाई ६ महिना कैद र क्षति बराबरको सजाय सुनाएको थियो। फरार सूचीमा रहेका चौधरी सांसद भएपछि माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए। बाँकेबाट उनलाई काठमाडौं हुँदै धनगढी लगिएको थियो।

उनीहरूसहित १४ जना व्यक्तिहरूलाई माफी पाएका छन्।

ुसम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मन्त्रिपरिषद्को मिति २०७९र११र०४ को बैठकको सिफारिसका आधारमा पुष्कर गौतम समेतका १४ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम प्रजातन्त्र दिवस, २०७९ को उपलक्ष्यमा माफी भएको छु, राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।