मोरङ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले अल्पसङ्ख्यक, सीमान्तकृत वा लोपोन्मुख समुदायको लागि संरक्षित र स्वायत्त ऐन ल्याउने बताएका छन् ।
मोरङको विराटनगरमा विराट राजवंशी जातिको १६ औँ बृहत भेलालाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । लामो संघर्षपछि आफूहरुले संविधानमा विशेष, संरक्षित र स्वायत्त क्षेत्र घोषणा गर्ने व्यवस्था गरेको औल्याउँदै मन्त्री मोदीले भने, “लामो संघर्ष र आन्दोलनपछि संविधानमा हामीले अल्पसंख्यक र उत्पीडित जातिको सरंक्षणका लागि विशेष, संरक्षित र स्वायत्त क्षेत्र घोषणा गर्न सकेका हौँ, तर ऐन ल्याउन सकेका छौँ, यो प्रधानमन्त्रीज्युको विशेष चासोको विषय पनि हो, माओवादी आन्दोलनकै कारणले यो व्यवस्था संविधानमा लिपिबद्ध भएको सर्वविदितै छ, ऐन हाम्रै पालामा ल्याउने प्रयास हुन्छ । ”
मन्त्री मोदीले विराट राजवंशी तथा मुलुकका अन्य उत्पीडित जातिहरुको पहिचानलाई स्थापित गर्नका लागि स्वायत्त र संरक्षित क्षेत्र घोषणा गर्ने बताए । मन्त्री मोदीले विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र घोषणाको मुख्य जिम्मेवारी आफूले सम्हालेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भएकाले जिम्मेवारीपूर्वक ऐन ल्याउने कार्यमा आफू जुट्ने समेत बताए ।
अधिकार प्राप्त नभएसम्म संघर्ष गर्न जरुरी भएको मन्त्री मोदीको भनाई थियो । “तपाईहरुले आफ्नो पहिचान भएन भनेर भन्नुभएको छ । पहिचानका लागि तपाईहरु लडिरहनुभएको छ” मन्त्री मोदीले भने, “संविधानले १ प्रतिशतभन्दा माथि जनसंख्या भएका उत्पीडित, अल्पसंख्यक जातजातिहरुको बसोबास र पहिचानका लागि स्वायत्त, विशेष र संरक्षित क्षेत्रको व्यवस्था गरेको छ ञ। तपाईहरु पनि यो परिधिभित्र पर्नुहुन्छ, तपाईहरुको अधिकारलाई यही क्षेत्रमार्फत् व्यवस्थित गर्छौ ।”
मन्त्री मोदीले क्रान्तिकारी भाषण गर्दैमा अधिकार प्राप्त नहुने बताउँदै अधिकारका लागि पहिचानको मुद्दा बोकेको दललाई भोट दिनुपर्नेमा जोड दिए ।
राजवंशी समुदायको हक अधिकार स्थापित गर्नका लागि आफूले गर्नुपर्ने पहलकदमी गर्ने उनको भनाई थियो । उनले विराट राजवंशीको उत्पति, बसोबास लगायतका सन्दर्भमा वस्तुगत परिस्थिति बुझ्न आदिवासी जनजाति आयोगलाई आग्रह समेत गरे ।
भेलालाई आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगर प्रदेश नम्बर १ का प्रदेशसभा सदस्यहरु केदार कार्की, जयप्रकाश चौधरी, गयानन्द मण्डल, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला लगायतले सम्बोधन गरेका थिए ।
Facebook Comments