काठमाडौं  । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सर्भर डाउन भएको छ । विमानस्थलको अध्यागमन विभागको सर्भर डाउन हुँदा अन्तराष्ट्रिय उडान प्रभावित भएको छ ।

समस्या समाधानका लागि विज्ञ टोलि खटाइएकाले केही समयमै समस्या समाधान हुने अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए ।सर्भर डाउन हुँदा नेपाल वायुसेवा निगम, इन्डिगो, बाटिक, थाई स्माइल, मलेसियन एयरलायन्स र श्रीलंकन गरी ६ वटा वायुसेवाबाट विदेश जानुपर्ने यात्रुको पासपोर्ट तथा भिसाको डिजिटल अध्ययन समयमै हुन नसकेको उनकाे भनाइ छ । अध्यागमन विभागका निर्देशक कमलप्रसाद पाण्डेले भने इन्टरनेटमा समस्या आउँदा काम रोकिएको दाबी गरे ।

३ दिनअघि पनि  अध्यागमन कार्यालयको सर्भर ५ घन्टासम्म बिग्रिँदा ५ वटा वायुसेवाका सयौं यात्रु अलपत्र परेका थिए । अध्यागमन कार्यालयका सूचना अधिकारी गणेश आचार्यले सर्भरमा समस्या देखिएको कारण पत्ता लगाउने काम भइरहेको बताए । सर्भर डाउन हुँदा अध्यागन कार्यालयको प्रस्थान विन्दुमा रहेका १४ र आगमन बन्दुमा रहेका २२ वटा कम्प्युटरले यात्रुको पासपोर्ट र भिसा अध्ययनको काम गर्न सक्दैनन् ।