काठमाडौं । चालु आर्थिक वर्ष २०७९र८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको कूल व्यापार घाटा आठ खर्ब २५ अर्ब ७३ करोड नाघेको छ ।  भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार माघ मसान्तसम्ममा नेपालले कूल रू १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाख बराबरको वैदेशिक व्यापार गरेको छ । यसमध्ये रू नौ खर्ब १९ अर्ब १६ करोड ५३ लाख बराबरको वस्तु तथा सेवा आयात हुँदा रू ९३ अर्ब ४३ करोड २३ लाख बराबरको मात्रै निर्यात भएको देखिएको हो ।

यो अवधिमा नेपालले गरेको कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ७७ प्रतिशत र निर्यातको हिस्सा नौ दशमलव २३ प्रतिशत छ । गत माघ मसान्तसम्म भएको वैदेशिक व्यापारबाट रू दुई खर्ब १२ अर्ब १२ करोड ७४ लाख बराबर भन्सार राजस्व उठेको विभागको तथ्याङ्कबाट देखिन्छ । गत आर्थिक वर्ष २०७८/७९ को अर्धवार्षिक समीक्षा अवधिमा नेपालले गरेको कूल वैदेशिक व्यापारको तुलनामा यसवर्षको सोही अवधिमा गरेको व्यापार २० दशमलव ८४ प्रतिशतले घटेको छ ।

त्यस्तै गतवर्षको तुलनामा आयात १९ दशमलव ९० प्रतिशतले घटेको छ भने निर्यात २९ प्रतिशतले घटेको विभागले जनाएको छ । नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार भारत हो । माघ मसान्तसम्ममा नेपालले भारतबाट  पाँच खर्ब ७० अर्ब ९६ करोड ९७ लाख बराबरको सामान आयात गरेको छ । यही अवधिमा नेपालबाट भारतमा भएको निर्यात भने  ६६ अर्ब २२ करोड ६५ लाख बराबर मात्रै छ । छ महिना अवधिमा चीनबाट  एक खर्ब २५ अर्ब पाँच करोड २४ लाख बराबरको आयात गरेको छ भने  ४२ करोड २६ लाख बराबरको मात्रै निर्यात गरेको छ ।

यो अवधिमा नेपालले वैदेशिक व्यापार गरेको तेस्रो ठूलो मुलुक इन्डोनेसिया हो । इन्डोनेसियाबाट  ५७ अर्ब ९ करोड ६९ लाख बराबरको आयात हुँदा रू १० करोड ३६ लाख बराबर मात्रै निर्यात भएको छ । त्यस्तै, संयुक्त अरब इमिरेट्सबाट रू २० अर्ब २६ करोड २५ लाख बराबरको सामान आयात हुँदा  २५ करोड ८९ लाख बराबरको निर्यात भएको छ ।

अर्जेन्टिनासँग  १८ अर्ब ५६ करोड ६० बराबरको आयात र रू १० लाख २० हजार बराबरक निर्यात कारोबार भएको भन्सार विभागको तथ्याङ्कबाट देखिन्छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्म नेपालले सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात गरेको छ । विभागका अनुसार छ महिनामा रू ८४ अर्ब ६१ करोड ६४ लाख बराबरको डिजेल,  ३८ अर्ब ७३ करोड ३३ लाख बराबरको पेट्रोल र  ३३ अर्ब ३४ करोड बराबरको एलपी ग्यास आयात भएको छ । यही अवधिमा नेपालले रू २६ अर्ब ४२ करोड ४२ लाख बराबरको अप्रशोधित सोयाबिन तेल आयात गरेको छ ।

त्यसैगरी,  २३ अर्ब ६६ करोड बराबरको फलाम, १८ अर्ब ४५ करोड ३५ लाख बराबरका सुनजन्य वस्तु,  १७ अर्ब ७६ करोड बराबरको अप्रशोधित पाम आयल र  १४ अर्ब ७६ करोड ८३ लाख बराबरको स्मार्टफोन आयात भएको देखिन्छ ।  छ महिना अवधिमा नेपालबाट सबैभन्दा धेरै पाम आयल निर्यात भएको छ । यो अवधिमा रू १३ अर्ब ९२ करोड ६७ लाख बराबरको पाम तेल निर्यात भएको देखिएको हो । त्यस्तै, सोयाबिन तेल रू आठ अर्ब २७ करोड ७५ लाख बराबरको निर्यात भएको छ । विभागका अनुसार रू चार अर्ब ८९ करोड ७३ बराबरको अलैँची र  दुई अर्ब ५८ करोड ३४ लाख बराबरको चिया निर्यात भएको छ ।

वैदेशिक व्यापार गर्ने सबैभन्दा ठूलो नाका वीरगञ्ज भन्सार हो । वीरगञ्ज भन्सारबाट छ महिना अवधिमा  तीन अर्ब ४३ करोड ६३ लाख ४३ हजार बराबरको सामान आयात भएको छ भने  २३ अर्ब २८ करोड ४० लाख बराबरको निर्यात भएको छ । नेपालले यो अवधिमा गरेको कूल वैदेशिक व्यापारमा वीरगञ्जबाट मात्र ३७ दशमलव ३९ प्रतिशत आयात भएको छ भने कूल निर्यातको २४ दशमलव ९२ प्रतिशत हिस्सा रहेको छ ।

त्यस्तै, भैरहवा भन्सारबाट  एक खर्ब ३० अर्ब ५३ करोड ९३ लाख बराबरको आयात र रू पाँच अर्ब ४२ करोड ७० लाख बराबर निर्यात भएको छ । विराटनगर भन्सारबाट रू एक अर्ब ६ करोड ९० लाख १९ हजार बराबरको आयात हुँदा  २५ अर्ब ५३ करोड ८० लाख बराबरको निर्यात भएको विभागको तथ्याङ्कबाट देखिन्छ ।