काठमाडौं । भारतबाट आएको मिसावट युक्त ८० हजार लिटर डिजेल झापामा राखीएकाे छ ।  भारतबाट नेपालमा आएको ४ वटा डिजेल ट्यांकरमा मिसावट भेटिएपछि झापाकाे चारआली शाखामा राखीएकाे हाे । 

इण्डियन आयल कर्पोरेसनको सिलगुडी डिपोबाट नेपाल आएको ४ वटा ट्यांकरको ८० हजार लिटर डिजेलमा मिसावट पाइए पछि निगमको चारआली शाखा कार्यालयले डिजेलमा मिसावट भएको शंका लागेपछि केन्द्रीय कार्यालय टेकुलाई जानकारी दिएको थियो । शंका गरिएका ती ४ वटा ट्यांकरको डिजेल परीक्षण गर्दा मिसावट भेटिएको हो ।  निगमका प्रवक्ता विनितमणि उपाध्यायले भारतबाट आएको ४ वटा ट्यांकरमा भएको ८० हजार लिटर डिजेलमा मिसावट भेटिएको बताए ।

अहिले झापाको चारआली शाखामा रहेको ४ वटा ट्यांकरको डिजेलको अनुसन्धान भइरहेको र  डिजेलमा मटीतेल मिसावटको आशंका रहेकाे बताउँदै उनले  छानबिन समितिले मिसावटको विषयमा प्रतिवेदन पेस गरेपछि निगमले कारबाही गर्ने बताए ।

नेपालमा भन्दा पनि भारतमा नै डिजेलमा मिसावट भएको हुनसक्ने निगम बताउछ । नेपालमा मटीतेल र डिजेलको मूल्य बराबर छ । भारतमा भने कोटामा पाइने मटीतेलको प्रतिलिटर ३० देखि ५० रूपैयाँ सस्तो हुने गरेको छ ।

निगमका अनुसार परीक्षणपछि ती ट्यांकरलाई कारबाही गरेर डिजेल बराबरको गुणस्तर बनाई हाल मिसावट भएको डिजेल बिक्री गरिने छ । नेपालमा डिजेल र मटीतेलको मूल्य बराबर भएपछि बीचमा मिसावट बन्द भएको थियो ।