काठमाडाैं । आर्थिक मन्दीका कारण व्यवसायी विस्थापित भएर घर खाली हुन थालेपछि घरधनीहरुले घरभाडा घटाउन थालेका छन् । रुपन्देहीको बुटवलमा कोरोना महामारीपछि संकटमा परेका होटल तथा पर्यटन व्यवसाय सञ्चालन भएका घरधनीहरुले भाडा घटाउन शुरु गरेका हुन् ।

कोराना संक्रमणले समस्यामा परेका पर्यटन व्यवसायीले आर्थिक मन्दीका कारण थप समस्यामा परेकाले घरभाडा घटाउन माग गर्दै आएका थिए ।  पर्यटन व्यवसायीले घरघाडा छुट तथा घटाउन गरेको मागलाई बुटवलका केही घरधनीहरुले सम्बोधन गरेका हुन् । बुटवलको ट्राफिकचोक होटल डि लाइट, देउराली होटल सनराइज होटललगायत दर्जनभन्दा बढी होटल सञ्चालन भैरहेका घरका घरधनीहरुले भाडा घटाईदिएपछि व्यवसायी पनि खुशी भएका छन् ।

महँङ्गो घरभाडा तिर्न र बैंकको व्याजसमेत चलाउनसमेत नसकेका बुटवलका घरधनीहरुले ३० प्रतिशत भाडा घटाईदिएपछि पर्यटन व्यवसायी खुशी भएका हुन् ।बैंकहरुले व्यवसायीको मर्म नबुझेपनि आर्थिक समस्यामा परेर व्यवसायबाट विस्थापित हुन लागेका व्यवसायीका समस्यमा घरधनीहरुले बुझेको भन्दै होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका पूर्वअध्यक्ष समुन्द्र जीसीले धन्यबाद दिएका छन्।

महङो भाडा तिर्न नसकेको अवस्थामा असल घरधनीहरुले भाडामा छुट दिएपछि पर्यटन व्यवसायी उत्साहित बनेको होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले बताए ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका पूर्व अध्यक्ष समुन्द्र जीसीका अनुसार रुपन्देहीको बुटवलमा ठूला, साना गरी सञ्चालित करिव १ हजार होटलमा ३ अर्व बढीको लगानी छ ।