जुम्ला । नेकपा (एमाले) केन्द्रीय सदस्य विष्णु रिजालले माओवादीलाई कम्युनिस्ट भन्ने नैतिक र राजनीतिक अधिकार नभएको बताएका छन् । एमालले सञ्चालन गरेको मिसन ग्रासरुट अन्तर्गत जुम्लाको चन्दननाथ नगरपालिका–२, भण्डारीबाडामा भएको कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले केन्द्रीय सदस्य विष्णु रिजालले दक्षिणपन्थी कांग्रेसको सेवा गर्ने वामपन्थी नामधारीबाट कम्युनिस्ट आन्दोलनलाई बचाउनुपर्नेमा जोड दिए ।
सो क्रममा उनले पहिले कम्युनिस्ट पार्टीको प्रधानमन्त्रीलाई हटाएर कांग्रेसका सभापतिलाई प्रधानमन्त्री बनाउने अनि अहिले कम्युनिस्ट पार्टीबाट राष्ट्रपति बनाउने बेलामा कांग्रेसका उम्मेद्वारलाई अघि सार्नेहरूलाई कम्युनिस्ट भन्ने नैतिक र राजनीतिक अधिकार नभएको बताए ।
वडा कमिटीका अध्यक्ष बलबहादुर भण्डारीको अध्यक्षतामा आयोजित भेलाले हरिबहादुर भण्डारीको नेतृत्वमा नयॉ कमिटी समेत गठन गरेको छ । भेलामा जुम्ला जिल्लाका अध्यक्ष शान्तिलाल महत, प्रदेश सचिवालय सदस्य गोर्ख पेछाई, जिल्ला कमिटी उपाध्यक्ष सुरतबहादुर शाही, नगर कमिटी अध्यक्ष धर्मेन्द्र रोकाया, अनेरास्वियुका केन्द्रीय सदस्य विराज भण्डारी, युवा संघका जिल्ला अध्यक्ष हरिश रोकायालगायतको उपस्थिति थियो ।
भेलाले वडाभित्रका भण्डारीबाडा, कुमाईबाडा र खोलिकोटमा पार्टी सदस्यता नवीकरण र विस्तारका लागि टोली गठन गरेको छ ।
Facebook Comments