धादिङ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शान्ति प्रक्रिया टुंगोमा पुर्याउनु सरकारको प्राथमिक कार्यभार रहेको बताएकी छन् ।
धादिङको गल्छीमा आयोजित सामुदायिक रेडियोहरुको दुई दिने राष्ट्रिय परामर्श सम्मेलन उद्घाटन गर्दै उहाँले चालु संसद अधिवेशनबाटै संक्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण गरेर शान्ति प्रक्रियाको बाकी कार्यभार टुंगोमा पुर्याउने बताएकी हुन् ।
अघिल्लो संसदमा बिधेयक पेश भए पनि टुंगोमा पुग्न नसकेको उल्लेख गर्दै उहाँले यसपटक त्यसका लागि प्रमुख दलहरूले लिखित प्रतिबद्धता नै जनाइसकेकाले संक्रमणकालीन न्यायको काम टुंगोमा पुग्ने विश्वास व्यक्त गरिन् । यसका लागि मिडियाको पनि सकारात्मक भूमिकाको अपेक्षा सरकारले गरेको मन्त्री शर्माले बताइन्।
शान्ति प्रक्रिया टुंगोमा नपुग्दा विभिन्न चलखेल सुरु भएको उल्लेख गर्दै उनले द्वन्द्वकालीन मुद्दा आम मुद्दाको रुपमा भन्दा शान्ति सम्झौता र संक्रमणकालीन न्यायभित्र रहेर टुङ्ग्यानुपर्ने बताइन् । एक अर्को प्रसङ्गमा मन्त्री शर्माले सरकार छिमेकी मुलुकसहित सबै मित्रराष्ट्रहरुसितको सन्तुलित परराष्ट्रनीतिमा प्रतिबद्ध रहेको बताइन् । कतिपय सन्दर्भमा जिम्मेवार नेताहरूले नै मुलुकको हितबिपरित अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै उनले सन्चारमाध्यमले यस्ता सवालमा ध्यान दिनुपर्ने र राष्ट्रहितलाई प्राथमिकतामा राख्नुपर्ने बताइन् ।
राजनीतिक सामाजिक आन्दोलनको सफलतामा मिडियाको ऐतिहासिक भूमिका रहेको उल्लेख गर्दै मन्त्री शर्माले गाउँगाउँका जनता जगाउन एफएम रेडियोको भूमिका झन महत्त्वपूर्ण रहेको बताउँदै मिडियाको यो शक्ति अब जनताको जीवनस्तर परिवर्तनमा लगाउनुपर्ने बताइन् ।
राजनीतिक परिवर्तनसंगै संबैधानिक र कानुनीरुपमा धेरै परिवर्तन गरिएको भए पनि त्यसको कार्यान्वयनले गति लिननसकेको उल्लेख गर्दै उनले कानुनी सचेतताका लागि सन्चारमाध्यमले आफ्ना सामग्री उत्पादन र प्रकाशन प्रसारणमा जोड दिनुपर्ने बताइन् ।
नेपालमा धेरै मातृभाषा र मौलिक सस्कृति संकटापन्न अवस्थामा रहेको उल्लेख गर्दै मन्त्री शर्माले मातृभाषाप्रति समुदायको सकारात्मक धारणा विकास गर्दै यसको प्रयोगमा व्यापकता ल्याउन सामुदायिक रेडियोलगायत सबै सन्चारमाध्यामले मातृभाषाका कार्यक्रम उत्पादन र प्रसारणमा जोड दिनु आवश्यक रहेको उनको भनाइ छ ।
पछिल्लो राजनीतिक परिवर्तनपछि हामीले संविधानमै सबै भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनु महत्त्वपूर्ण उपलब्धि भएको औल्याउँदै मातृभाषालाई प्रयोगमा ल्याएर सबै भाषाभाषीलाइ व्यापक बनाउनु आजको आवश्यकता रहेको र यसमा सन्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहने उनको भनाइ छ ।
युनेस्कोको सहयोगमा रेडियो धादिङले आयोजना गरेको सम्मेलनमा देशभरिका सामुदायिक रेडियोबाट प्रतिनिधिमूलक सहभागिता रहेको छ । सम्मेलनमा पाँच वटा शीर्षकमा प्यानल छलफल हुने आयोजक रेडियो धादिङका अध्यक्ष सुवास खतिवडाले जानकारी दिए ।
Facebook Comments