काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सडक अवरुद्ध हुँदा सयौं सवारीसाधनहरु अलपत्र परेका छन्। नवलपरासी पूर्वको चालिसकिलोमा सडक फराकिलो बनाउने क्रममा बनाइएको डाइभर्सन भास्सिएकाले राजमार्ग अवरुद्ध हुँदा सवारी साधन अलपत्र परेका हुन् ।
सोमबार परेको अविरल वर्षाका कारण राजमार्ग बनाइएको डाइभर्सन भासीएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । वर्षासँगकै बाढीले मध्यविन्दु नगरपालिका–७ मा डाइभर्सन र कावासोती नगरपालिका–१६ चालिसकिलोमा रहेको डाइभर्सन बगाएको प्रहरीले जनाएको छ।
डाइभर्सन बगाएको ठाउँमा डोजर परिचालन गरी सम्याउने काम भइरहेको प्रहरीले जनाएको छ। बाटो खुल्न अझै केही समय लाग्ने भएकाले पूर्व–पश्चिम राजमार्ग भएर यात्रा गर्ने सवारीसाधनलाई वैकल्पिक बाटोको प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।
पूर्वबाट पश्चिम जाने सवारीहरुले डण्डाबाट कोल्हुवा हुँदै अरुणखोलाको रुट प्रयोग गर्न र पश्चिमबाट पूर्व जाने सवारीहरुले चोरमारबाट हुप्सेकोट हुँदै डण्डा निस्कने रुटको प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।
Facebook Comments