काठमाडौं ।  एक वर्षभन्दा बढी समयदेखि बिना सूचना ड्युटीमा उपस्थित नहुने आफ्ना कर्मचारीलाई तत्काल सम्पर्कमा आउन नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ । प्रहरी प्रधान कार्यालयको कानून शाखाले दश जना प्रहरी कर्मचारी आफूखुशी कार्यालयमा गैरहाजिर रहेको भन्दै सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो ।

उनीहरु लामो समयावधिदेखि कार्यक्षेत्रमा गैरहाजिर रहेको र खोजतलास गर्दा पनि सम्पर्कमा आउन नसकेको भन्दै सूचनामा सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित उपस्थित हुन भनिएको छ । 

पञ्हरी पञ्धान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्ज दरबन्दी भएका प्रहरी हबल्दार दिपेन्द्र सिंह २०७८ साल फागुन १० गतेदेखि सम्पर्कमा नआएको प्रहरी हेडक्वाटरले जनाएको छ ।

त्यस्तै, प्रहरी जवान दिपु अवाल २०७९ पुस १७ गतेदेखि, निरकुमार राई माघ १३ गतेदेखि, रामफल यादव माघ २५ गतेदेखि र गोविन्द्र केसी माघ २८ गतेदेखि गैरहाजिर छन् ।आनन्द मण्डल पुस ७ गतेदेखि, विशालकुमार राई पुस २९ गतेदेखि, आलेश थापा मगर माघ १८ गतेदेखि तथा धर्मेन्द्र विक र हरिराज विक माघ २८ गतेदेखि सम्पर्कमा नरहेको प्रहरी प्रधान कार्यालयले बताएको छ ।

पञ्हरी प्रधान कार्यालयले जारी गरेको सूचनामा  ‘यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन आउनु होला,’ सूचनामा भनिएको छ, ‘अन्यथा प्रहरी नियमावली २०७१ को नियम ११३ को उपनियम ‘१’ को खण्ड ‘च’ को कसूरमा ऐ, नियमावलीको नियम १०९ को देहाय ‘ख’ बमोजिम सेवाबाट हाटउने कारबाही हुने जानकारी गराइन्छ’ भनिएको छ ।