काठमाडौं । पशुपति क्षेत्र विकास कोषको गेटमा मंगलवार राष्ट्रिय सभाका सांसद जयन्ती राई, गोमादेवी तिमल्सिना, गरिमा शाह तथा पूर्व सांसद कल्याणी खड्का सहितका महिला नेतृहरु धर्ना बस्नुभएको छ । सांसद तथा नेताहरुको धर्ना आफ्नै कुनै माग वा आन्दोलनका नभै पशुपति क्षेत्र विकास कोषले सरसफाईमा कार्यरत ३७ श्रमिकलाई निश्कासन गरेको विरोधमा हो ।

पशुपति क्षेत्र विकास कोषले पुस १ गतेदेखि सरसफाइमा कार्यरत ३७ जना श्रमिकलाई गैरकानुनी रूपमा निकालिएकोमा श्रम अदालत भक्तपुरले श्रमिकलाई काममा लगाउन दिएको आदेश अवज्ञा गरि श्रमिकलाई काम गर्न नदिए पछि ३७ दिन देखि कोषको मुल गेटमा श्रमिकहरुको धर्ना जारी छ । श्रमिकहरुको धर्नामा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य राईको नेतृत्वमा गएको सांसद तथा पार्टी नेताहरुको समूहले ऐक्यबद्धता जनाएको हो । 

सांसद राईले भएका श्रमिकलाई गैरकानुनी ढंगले निस्कासन गर्ने अदालतको आदेश नमान्ने र बाह्य कम्पनीमार्फत श्रमिक राखेर सरसफाईको काम भएकोमा आफूहरुको आपत्ति रहेको र सदनमा कुरा राख्ने बताउनुभयो । पशुपति क्षेत्र विकास कोषले निजी तीन वटा निजी कम्पनीसँग सम्झौता गरी सरसफाईको काम गराईरहेको बुझिएको छ ।