ललितपुर । सामुदायिक विद्यालयमा अध्ययनरत पाँच हजार पाँच सय भन्दा बढी विद्यार्थीहरु नेपाल भाषा सिकिरहेका छन् । ललितपुर महानगरपालिकाले चालु शैक्षिक सत्रको सुरुवातबाट कक्षा ३ सम्मका विद्यार्थीहरुलाई स्थानीय पाठ्यक्रम निर्माण गरी नेपाल भाषा पढाउन थालिएको हो ।
महानगरपालिकाभित्रका ४० सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका पाँच हजार पाँच सय भन्दा बढी विद्यार्थीहरु नेपाल भाषा सिकिरहेको ललितपुर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख देवीप्रसाद उपाध्यायले बताउनुभयो ।
महानगरपालिकाभित्रका सबै विद्यालयलाई अनिवार्य गरिएको बताउँदै महाशाखा प्रमुख उपाध्यायले भन्नुभयो –‘हामीले सामुदायिक विद्यालयमा भाषा सहजकर्ता शिक्षक, शिक्षण तालिम र पाठ्यपुस्तक समेत उपलब्ध गराएका कारण सबैमा सुरु भएको छ तर निजीमा सबैले नपढाएका पनि हुन सक्छन् ।’
ललितपुर महानगरपालिकाभित्रको ठूलो क्षेत्र नेवारी समुदाय रहेकाले स्थानीय समुदायसँग अन्तरघुलित हुन पनि भाषा आवश्यक भएको महसुस गरी नेपाल भाषा सिक्ने व्यवस्था मिलाईएको ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले बताउँदै आउनुभएको छ ।
नेपाल भाषा सिकिरहेका विद्यार्थीहरुमा राम्रो प्रगति भईरहेको ललितपुर महानगर २ सानेपामा रहेको टिका विद्याश्रम माविका प्रधानाध्यापक विमला लामीछानेले बताउनुभयो । विद्यार्थीहरुले आफ्नो नाम, विद्यालयको नाम नेपाल भाषामा भन्न सक्ने भएको देख्दा खुसी लागेको उहाँले बताउनुभयो ।
लामीछानेले भन्नुभयो–‘विद्यार्थीहरु नेवारी संस्कृतिसँग अझ घुलमिल गरिरहेका छन् । योमरी पुन्हीमा योमरी बनाउने अघिपछि पनि नेवारी खाजा बनाउन समेत रमाइरहेका छन् ।’ नेपाल भाषा प्रशिक्षकको व्यवस्था भएपछि नेवारी सँस्कृतिसँग विद्यार्थीलाई अन्तरघुलित गराउन समेत सहयोग पुगेको जनप्रतिनिधिहरु बताउनुहुन्छ ।
Facebook Comments