ललितपुर – नेपाल उसु महासंघको आयोजनामा ओलम्पिक सोलीडारिटी नेसनल टेक्निकल कोर्स फर उसु कोचेज आउने मंसीर २१ गते आइतबारदेखि काठमाडौंमा हुने भएको छ । उसुका अन्र्तराष्ट्रिय विज्ञ प्राविधिकहरुद्धारा दिइने टेक्निकल कोर्समा सात प्रदेश र ३ विभागीय टिमबाट सिफारिस भएर आउने प्रशिक्षकहरुलाई प्रशिक्षण दिइने कार्यक्रम संयोजक महासंघका महासचिव लाक्पा छिरिङ लामाले जानकारी दिए । 

३ विभागीय टिमका तर्फबाट २–२ जना सान्सौ र २–२ जना थाउलोबाट गरी कूल १२ प्रशिक्षक सहभागी हुनेछन् । यसैगरी बाग्मती प्रदेश र सुदुरपश्चिम प्रदेशबाट १०–१० जना , लुम्बिनीबाट ८ जना , कर्णाली र कोशी प्रदेशबाट ६–६ जना, गण्डकीबाट ४ जना र मधेश प्रदेशबाट २ जनाको कोटा छुट्टाइएको महासंघले जनाएको छ । 

अन्र्तराष्ट्रिय उसु महासंघको मान्यता प्राप्त प्रशिक्षक एवं विज्ञ चिनीया प्रोफेसर एईवि र लिन साओमीले मंसीर २५ गतेसम्म चल्ने कोर्समा नेपाली प्रशिक्षकहरुलाई सिकाउनेछन् । सिकाइसँगै उनीहरुको दक्षताको पनि परिक्षण गरिने महासंघका महासचिव लामाले जानकारी दिए । 

जापानमा हुने आउँदै गरेको २० औँ एशियाली खेलकुद प्रतियोगिता , १० औँ जुनियर विश्व उसु च्याम्पियनसीप, डकार युथ ओलम्पिक लगायतमा नेपालको उपलब्धिमूलक सहभागीतामा सघाउ पु¥याउने उदेश्यले कोर्सको डिजाइन गरिएको महासंघका महासचिव लामाले बताए । 

उनका अनुसार यस्तो खाले उसु प्रशिक्षकका लागि पहिलो कोर्स नेपालमै पहिलो पटक भएको छ । 

यो कोर्समा उर्तीण हुने प्रशिक्षकलाई औपचारिक प्रशिक्षकको मान्यता दिइने उनले बताए । 

यस्तो खाले कोर्सले नयाँ नयाँ खेलाडी उत्पादनमा जोड दिने, उसुप्रति जागरुक बनाउने , क्षमता बृद्धिसँगै खेलाडीको स्तर उन्नतीमा टेवा पु¥याउने उदेश्य यो कार्यक्रमको छ । 

अन्र्तराष्ट्रिय महासंघबाट यस्तो कार्यक्रम आउनु ठूलो अवसर भएको कार्यक्रम संयोजक लामाले बताए ।