ललितपुर– ललितपुर क्षेत्र नम्बर १ का एमाले उम्मेद्वार चेतनाथ सञ्जेललाई गोदावरी नगरपालिका वडा नम्बर ३ गोदावरीमा चुनावी घरदैलोका क्रममा पुग्दा त्यहाँका वासिन्दाले राम्रो सद्भाव देखाएका छन् ।  

उनीहरुले यही भूगोलको उम्मेद्वार भन्दै चेतनाथलाई यसपटक साथ दिने बताएका छन् । एक बृद्ध आमाले यसपटकको आफ्नो मत यही माटोको परिवेश बुझेको देश बनाउनेलाई दिने बताइन् । 

घरदैलोमा आएका सबैलाई रातो टिका लगाएर आर्शिवाद दिँदै उनले भनिन् र्, यस पटकको भोट देश जलाउनेलाई होइन, देश बचाउनेलाई हो । उनले घरनजिकैको गोदावरी सनराइज हल जलेर ध्वस्त हुँदाको पीँडा सुनाउँदै भनिन् र्,  कति लगानी गरेर बनाएको यो हल एकैछिनमा स्वाहा बनाए , हाम्रो मन रोएको छ तसर्थ त्यो संझेर पनि हामीले मतको निर्णय गर्नुपर्छ । 

९२ वर्षका विष्णु पुरी पनि कला संस्कृति सरक्षण गर्ने र देश बचाउनेलाई भोट हाल्नुपर्ने धारणा राख्छन् । विरामी भएर थलिएका उनी देशमा राम्रो सुख शान्ति भएको सुन्न र हेर्न चाहन्छन् । 

गोदावरी कुण्ड नजिकै घर भएकी एक महिलाले उम्मेद्वार चेतनाथलाई आर्शिवाद दिँदै भनिन् , अहिले यसरी फूल माला अविर लगाउन पाइएको छ , चुनाव जितेपछि पनि यसैगरी स्वागत गर्न पाइयोस् । 

घरदैलोका क्रममा भेटिएका यूवाहरुले पनि गोदावरीको मुटुमै यसरी आगजनी र तोडफोड भएको घटना ताजै रहेको बताए । घरदैलोमा उठेका विषयको जवाफ दिने क्रममा चेतनाथले क्षतीग्रस्त सनराइज हललाई अब नवनिर्माण गर्ने प्रतिवद्धता जनाएका छन् । 

उनले नौधारा र गोदावरी कुण्डलाई आवश्यक पर्ने अरु पूर्वाधार बनाएर धार्मीक र सांस्कृतिक पर्यटन बढाउने योजना सुनाएका छन् । कतिपय स्थानमा सडकको स्तरउन्नती गर्दै पूलहरु निर्माण गर्नुपर्ने छ , पहिरो नियन्त्रणका विषयमा पनि ठोस पहलहरु गर्नुपर्नेछ , उनले भने ।